नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत औषधि व्यवस्था विभागका अनलाइन सेवाहरूको शुभारम्भ

प्रेस विज्ञप्ति

काठमाडौं, २०८३ असोज २९ गते
औषधि व्यवस्था विभागबाट प्रदान गरिने औषधि, औषधिजन्य कच्चा पदार्थ तथा औषधि उत्पादन सामग्रीहरूको निकासी तथा पैठारीसम्बन्धी सिफारिसपत्र, अनुमतिपत्र, इजाजतपत्र, प्रमाणपत्रलगायतका सेवाहरूलाई डिजिटल माध्यमबाट प्रवाह गर्ने उद्देश्यले नेपाल राष्ट्रिय एकद्वार प्रणाली (Nepal National Single Window – NNSW) मार्फत उपलब्ध गराइने अनलाइन सेवाहरूको औपचारिक शुभारम्भ मिति २०८३ असोज २९ गते औषधि व्यवस्था विभाग, बिजुलीबजार, काठमाडौंमा आयोजित एक समारोहबीच गरिएको छ।
औषधि व्यवस्था विभागका महानिर्देशक श्री भरत भट्टराईज्यूको अध्यक्षता तथा भन्सार विभागका महानिर्देशकज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा अर्थ मन्त्रालय, भन्सार विभाग, NNSW, औषधि व्यवस्था विभाग तथा राष्ट्रिय औषधि प्रयोगशालाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
यस प्रणालीअन्तर्गत  औषधिजन्य कच्चा पदार्थ आयातसम्बन्धी सिफारिसपत्र, औषधि निर्यातसम्बन्धी सिफारिसपत्र, स्वास्थ्य प्रविधिजन्य सामग्री आयातसम्बन्धी सिफारिसपत्र, प्रयोगशाला परीक्षणका लागि आवश्यक नमुना तथा रेफरेन्स स्ट्यान्डर्ड आयातसम्बन्धी सिफारिसपत्र, बिरामीका लागि औषधि आयात सिफारिसपत्र तथा औषधि आयातका लागि विशेष सिफारिसपत्रलगायतका विभिन्न सेवाहरू NNSW प्रणालीमार्फत अनलाइन आवेदन गर्न सकिने व्यवस्था गरिएको छ।
यस प्रणालीमार्फत सेवाग्राहीले आवश्यक विवरणसहित अनलाइन आवेदन पेस गर्न, सम्बन्धित कागजातहरू अपलोड गर्न, लाग्ने राजस्व तथा शुल्क अनलाइन भुक्तानी गर्न र स्वीकृत प्रमाणपत्र तथा सिफारिसपत्र प्राप्त गर्न सक्नेछन्। यसबाट सम्बन्धित सेवा प्राप्त गर्न अपनाउनुपर्ने प्रशासनिक प्रक्रियालाई थप सहज, व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने, समय तथा प्रक्रियागत झन्झट न्यूनीकरण गर्दै व्यापार सहजीकरण गर्ने तथा सम्बन्धित निकायहरूबीचको समन्वयलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने समेत अपेक्षा गरिएको छ।
औषधि व्यवस्था विभाग, भन्सार विभाग तथा अर्थ मन्त्रालयबीचको सहकार्य र समन्वयमा अघि बढाइएको यो पहल नेपालमा डिजिटल सुशासनको प्रवर्द्धन तथा व्यापारसम्बन्धी प्रक्रियाहरूको आधुनिकीकरण तथा Digitalization of DDA तर्फको एक महत्त्वपूर्ण कदमका रूपमा रहनेछ।