एन्टिमाइक्रोबियल(एन्टिबायोटिक) औषधिको विवेकपूर्ण प्रयोग र एएमआर नियन्त्रणका लागि तथ्याङ्कमा आधारित नियमनमा जोड

None

ललितपुर, २०८३ कार्तिक १९।

एन्टिमाइक्रोबियल रेजिस्टेन्स (AMR) को बढ्दो जोखिम न्यूनीकरण तथा एन्टिमाइक्रोबियल औषधिको विवेकपूर्ण प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले औषधि व्यवस्था विभागको आयोजना तथा विश्व स्वास्थ्य संगठनको सहयोगमा एन्टिमाइक्रोबियल औषधि उपभोगसम्बन्धी तथ्याङ्क सङ्कलन तथा प्रसारसम्बन्धी कार्यशाला सम्पन्न भएको छ।

कार्यशालालाई सम्बोधन गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री माननीय निशा मेहता ज्यूले एन्टिमाइक्रोबियल औषधिको अनावश्यक तथा अनियन्त्रित प्रयोग नियन्त्रण गर्न उपभोगसम्बन्धी तथ्याङ्कको नियमित सङ्कलन, विश्लेषण र प्रमाणमा आधारित नियामकीय तथा नीतिगत निर्णयको आवश्यकता औँल्याउनुभयो। उहाँले औषधिको उपभोगसम्बन्धी तथ्याङ्कलाई नियमन, खरिद, वितरण तथा प्रयोग व्यवस्थापनसँग जोड्नुपर्नेमा जोड दिनुभयो।

कार्यशालामा सन् २०१६ देखि २०२४ सम्मको एन्टिमाइक्रोबियल औषधि उपभोगसम्बन्धी तथ्याङ्क प्रस्तुत तथा विश्लेषण गरिएको थियो। साथै, एन्टिबायोटिकको विवेकपूर्ण प्रयोग प्रवर्द्धनका लागि औषधिको प्याकेजिङमा रातो धर्सा राख्ने, विश्व स्वास्थ्य संगठनले प्रयोगका लागि सिफारिस नगरेका १०३ प्रकारका एन्टिबायोटिकको दर्ता, नवीकरण, आयात तथा उत्पादनमा रोक लगाउने र Reserve समूहका एन्टिबायोटिकको वितरणलाई अस्पतालका औषधि पसलमा सीमित गर्नेलगायतका नियामकीय व्यवस्थाबारे जानकारी गराइएको थियो।

सोही अवसरमा राष्ट्रिय अत्यावश्यक औषधिको सूची (National List of Essential Medicines) को सातौँ संशोधनसमेत सार्वजनिक गरिएको थियो।

एन्टिमाइक्रोबियल रेजिस्टेन्स जनस्वास्थ्यको गम्भीर विश्वव्यापी चुनौतीका रूपमा रहेको वर्तमान अवस्थामा यसको नियन्त्रणका लागि औषधिको उचित प्रयोग, प्रभावकारी नियमन, तथ्याङ्कमा आधारित निगरानी तथा सम्बन्धित निकायबीचको समन्वय अपरिहार्य रहेको छ। यसका लागि औषधि व्यवस्था विभागले सम्बन्धित सबै सरोकारवालासँगको सहकार्यमा औषधिको सुरक्षित तथा विवेकपूर्ण प्रयोग प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गर्दछ। आजको कार्यक्रममा पशु सेवा विभाग र वातावरण विभागका महानिर्देशकहरूका साथै विभिन्न औषधि उत्पादक, आयातकर्ता तथा उद्योग संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।